१२ आश्विन २०७९, बुधबार

आयात प्रतीतपत्र खोल्ने कार्यलाई निरन्तरता दिन प्रधानमन्त्रीलाई नाडाकोे आग्रह

काठमाडौं जर्नली संवाददाता , २६ चैत्र २०७८, शनिबार १२:०४

अटो मोवाइल क्षेत्रको छाता संगठन अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयात प्रतीतपत्र (एलसी) खोल्ने कार्य अप्रत्यासित रुपमा बन्द गरिएको गुनासो गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको चार सदस्यीय प्रतिनिधी मण्डलले शुक्रबार प्रधानमन्त्रीसँग भेट गर्दै व्यवसायीहरुलाई कुनै समय नै नदिई अप्रत्यासित रुपमा आयात प्रतीतपत्र (एलसी) बन्द गरिएको सम्बन्धमा गुनासो गर्दै यसबारे तत्काल सम्बोधन गरि दिन आग्रह गरेका हुन् ।

उक्त भेटघाटमा अध्यक्ष थापाले नेपालको अटोमोबाइल क्षेत्रलाई नजरअन्दाज गर्दै बैंक जस्ता वित्तीय निकायहरुले सम्पूर्ण सवारी तथा ढुवानीका साधन लगायत त्यसमा प्रयोग हुने स्पेयर पार्टसको आयातका लागी प्रतितपत्र खोल्ने सम्बन्धमा व्यवसायीहरुलाई कुनै समय नै नदिएको गुनासो गरेका थिए ।

नेपाल राष्ट्र बैंकले चैत २१ गते उच्च आयातका कारण विदेशी सञ्चिति घट्ने क्रम नरोकिएकाे भन्दै गाडी लगायतका विलासी वस्तुहरुको आयात नियन्त्रण गर्न बैंकहरुलाई निर्देशन दिएकाे थियाे । बैंकले प्रवाह गरेको अधिकांश कर्जा आयातमा प्रयोग भएको भन्दै अति आवश्यकीय वस्तुको आयात गर्नका लागि मात्र कर्जा दिन र आयात नियन्त्रण हुनेगरी काम गर्न निर्देशन दिएको थियाे ।

प्रधानमन्त्रीसँगको भेटमा उनले नेपालको अटोमोबाइल क्षेत्रमा २ खर्ब भन्दा बढीको लगानी रहेको, हरेक वर्ष १ खर्ब ५० अर्ब भन्दा बढी राजश्वमा योगदान पु¥याउँदै आएको र देशको प्रत्यक्ष रोजगारीमा ५० हजार भन्दा बढीलाई अवसर दिँदै आएको बताउँदै तत्काल सम्बोधन गरि दिन आग्रह गरेका थिए ।

भेटमा प्रधानमन्त्री देउवाले नाडाको सुझावहरुलाई सकारात्मक रुपमा लिँदै सवारी साधनहरुको आयातका लागी प्रतितपत्र खोल्न बन्द गरिएको सन्दर्भमा आवश्यक जानकारी लिई सम्बन्धित निकायमा निर्देशन दिइने आश्वासन दिएका छन् ।

सो छलफलमा महासचिव सुरेन्द्रकुमार उप्रेतिले अटोमोवाइल क्षेत्रको ठूलो योगदानका बाबजूत पनि सरकारका नीतिहरु हमेशा अटोमोबाइल व्यवसायीहरुलाई निरुत्साहित गर्ने खालको हुने गरेको गुनासो गरेका थिए ।

छलफलमा अध्यक्ष थापा, महासचिव उप्रेतिका साथै कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्य समिति सदस्य निराकार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्