१२ आश्विन २०७९, बुधबार

पेन्टको कच्चा पदार्थ आयातमा भन्सार शुल्क ५ प्रतिशत बनाउन माग

काठमाडौं जर्नली संवाददाता , २३ बैशाख २०७९, शुक्रबार ०१:१२

पेन्टलाई आवश्यक कच्चा पदार्थ आयातमा भन्सार शुल्क ५ प्रतिशत बनाउन नेपाल पेन्ट उद्योग संघले सरकारसंग माग गरेको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष विश्वप्रकाश साखःले कच्चा पदार्थ आयातमा फरक–फरक शुल्क भएको भन्दै विदेशी पेन्ट कम्पनीसँग प्रतिष्पर्धा गर्नका लागि भन्सार शुल्क घटाउनु पर्ने बताए । ‘विदेशी पेन्ट र कच्चा पदार्थ आयातमा समान ३० प्रतिशत भन्सार शुल्क छ,’ उनले भने, ‘यसले विदेशी पेन्टसँग प्रतिष्पर्धा गर्न गाह्रो भयो ।’ कच्चा पदार्थ आयातमा ५ प्रतिशतभन्दा बढी भन्सार शुल्क हुन नहुने उनको माग छ ।

‘नेपालमा ५० वटाभन्दा बढी पेन्ट उद्योग छन् । ती उद्योगमा २८ सयभन्दा बढी श्रमिक कार्यरत छन्,’ उनले भने, ‘यस क्षेत्रलाई आवश्यक सम्पूर्ण कच्चा पदार्थमा एउटै प्रकारका हर्मोनाइज कोडको व्यवस्था र एउटै भन्सार शुल्क कायम गर्नुपर्छ ।’ साखःले अनुसार एक्रिलिक पोलिमरको आयातमा सरकारले तोकेको कर न्यायपूर्ण नभएको पनि बताए ।

‘इमल्सन एचएसएन ३९.०६ कोड अन्तर्गत १० प्रतिशत भन्सार शुल्क तोकिएको र साफ्टाको सुविधा पनि छ,’ उनले भने, ‘तर एचएसएन ३२.०९ कोड अन्तर्गत भन्सार शुल्क ३० प्रतिशत र साफ्टामा पनि सुविधा छैन ।’ उनले एक्रिलिक पोलिमरको आयातमा श्रीलंका, बंगलादेश र भारतजस्ता मुलुकले १० प्रतिशत मात्र भन्सार शुल्क कायम गरेको पनि बताए ।

वित्तीय ऐनले टाइटेनियम डाइअक्साइडको आयातमा १५ प्रतिशतबाट घटाएर ५ प्रतिशत भन्सार शुल्क कायम गरेको भन्दै पेन्ट उद्योगहरूले टाइटेनियम डाइअक्साइडलाई ३२.०६.११.०० मा आयात गर्ने गरेको हुनाले एचएसएन कोड सच्याउन संघको माग छ । साथै, करार उत्पादन गर्ने÷गराउने प्रावधानको लागि सरकारलाई नीतिगत सुधार गर्न पनि पेन्ट उद्योगहरूले आग्रह गरेको छ । अहिले नेपाली पेन्ट उद्योग गुणस्तर र उत्पादन क्षमताको आधारमा आत्मनिर्भर भइसकेका छन् । रोजगारी र राजस्वमा उल्लेखनीय योगदान पुर्याउँदै आएकाले राज्यले उद्योगको समस्या समाधानमा सम्बोधन गर्नुपर्ने संघको माग छ ।

प्रतिक्रिया दिनुहोस्