१२ आश्विन २०७९, बुधबार

आलु, प्याज र लसुन आयातमा राष्ट्र बैंकको संशय

काठमाडौं जर्नली संवाददाता , २ भाद्र २०७९, बिहीबार ०१:३०

२ भदौं, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आलु, प्याज र लसुनको आयातमा शंकास्पद धनको प्रयोग भएको भन्दै अनुसन्धान सुरु गरेको छ । भन्सार घोषणा र एलसी प्रक्रियामा रकम देखिने तर खासमा वस्तु परिमाणमा आयात नहुने देखिएको राष्ट्र बैंकको प्रारम्भीक अध्ययनमा देखिएको थियो ।
‘नेपालबाट कालोधन विदेश पु¥याउन यि वस्तुको आयात कृतिम होकी भन्ने आशंकामा अध्ययन सुरु भएको छ, राष्ट्र बैंक उच्च स्रोतले भन्यो ‘यसबारे सचेत हुन र आफै छानबिन गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिइसकिएको छ ।’
बजारको माग र विगतको आयात ट्रेन्ड भन्दा पनि अधिक मात्रामा ति वस्तुको आयात हुनु पूँजी पालयनको बाटो हुन सक्ने राष्ट्र बैंकको आंकलन छ ।

गत आर्थिक वर्ष एक वर्षमै नेपालले १७ अर्ब रुपैयाँ भन्दा बढीको हरियो तरकारी आयात गरेको थियो । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को तथ्याङ्कअनुसार आलु, प्याज र लसुन मात्रै त्यो वर्ष साढे १५ अर्ब रुपैयाँ मुलुकबाट बाहिरिएको थियो ।
भन्सार विभागकाअनुसार हरियो तरकारीका लागि मुलुकबाट बाहिरिएको रकम गत वर्ष भन्दा ५ अर्ब हाराहारीले बढी हो । आर्थिक वर्ष २०७७/०७८ मा नेपालले ४५ करोड किलो यस्तो तरकारी आयातका लागि १२ अर्ब ३१ करोड ३८ लाख ९५ हजार रुपैयाँ खर्च गरेको थियो । समिक्षा अवधिमा ५९ करोड ८७ लाख ५९ हजार किलो हरियो तरकारीका लागि १७ अर्ब ७ करोड ८० लाख ९० हजार रुपैयाँ खर्च गरेको छ ।
उक्त आयातबाट सरकारले एक अर्ब ७२ करोड २३ लाख ५० हजार रुपैयाँ राजश्व संकलन गरेको छ । आव ०७८÷०७९ मा नेपालले आयात गरेका प्रमुख तीन तरकारी आलु, प्याज र लसुनमै १५ अर्ब बढी रकम मुलुकबाट बाहिरिएको थियो ।
यो वर्ष नेपालले ८ अर्ब १८ करोड ८९ लाख ९ हजारको ३२ करोड ७६ लाख ७२ हजार २३७ किलो आलु आयात गरेको छ । अघिल्लो वर्ष ७ अर्ब ३० करोड ७० लाखको २८ करोड ४१ लाख २५ हजार किलो आलु आयात गरेको थियो ।
०७८/०७९ मा नेपालले ६ अर्ब १७ करोड ५ लाख ७१ हजार रुपैयाँको प्याज नेपाल भित्रिएको छ । उक्त मूल्यको १६ करोड ८५ लाख ४० हजार किलो प्याज किनिएको थियो । अघिल्लो वर्ष यस्तो आयात २ अर्ब ४६ करोड ८२ लाख ३६ हजार रुपैयाँको थियो ।
नेपालमा तेस्रो धेरै आयात भएको तरकारीमा पर्छ लसुन । ०७८÷०७९ मा नेपालले ९१ लाख ३० हजार किलो लसुन आयात गरेको छ । यसका लागि मुलुकको ढुकुटीबाट १ अर्ब ५ करोड ३५ लाख ५६ हजार रुपैयाँ बाहिरीएको भन्सार विभागले जनाएको छ । अघिल्लो आवमा एक करोड ६ खाख किलो लसुनका लागि नेपालले एक अर्ब ५ करोड ९६ लाख रुपैयाँ खर्च गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्